काठमाडौँ, ५ असोज, शमी साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको 'शमी साहित्य साधना सम्मान' यो वर्ष साहित्यकारहरु गोपीकृष्ण शर्मा र ठाकुर पराजुलीलाई प्रदान गरिएको छ । रामशाहपथ स्थित नेपाल बारको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सो पुरस्कार साहित्यकार द्वयलाई अर्पण गरे । साहित्यकार द्वयलाई सम्मानसहित ५०/५० हजार नगद राशी प्रदान गरिएको हो ।

सम्मान पुरस्कार प्राप्त गरेपछि बोल्दै साहित्यकार गोपीकृष्ण शर्माले आफूमा जिम्मेवारी बढेको अनुभूति भएको बताए । उनले पुरस्कार प्राप्त गरेपछि मैले अझै धेरै काम गर्न बाँकी रहेको र तैँले अझै काम गर्नु है भनेर यो पुरस्कार दिएजस्तो लागेको बताए । पुरस्कारका लागि धन्यवाद दिँदै शर्माले नेपाली साहित्य र आफ्नो जीवनमा प्रतिष्ठानले गुन लगाएको बताए ।
अर्का सम्मानित साहित्यकार ठाकुर पराजुलीले नेपाली समालोचनाका क्षेत्रमा आफूले गरेको योगदानको कदर गरेको बताए । लामो समयदेखि समालोचना साहित्यमा आफू सक्रिय रहे पनि अहिले आएर सम्मान पाउँदा खुसी लागेको बताए ।

यसैगरी 'शम–समता लौङ्गिक अध्ययन पुरस्कार' बाट छात्रा रोशनी अधिकारीलाई सम्मान गरिएको छ । कक्षा १२ को परीक्षामा लौङ्गिक अध्ययन विषयमा दृष्टिविहीन भएर पनि ८६ प्रतिशत अंक ल्याइ उत्तीर्ण भएकी छात्रा अधिकारीलाई प्रतिष्ठानले सम्मान गरेको हो । यो पुरस्कारमा सम्मानसहित २० हजार नगद राशी रहेको छ ।
सम्मान प्राप्त गरेपछि बोल्दै छात्रा अधिकारीले आफ्नो क्षमताको पहिचान गरेकोमा धन्यवाद व्यक्त गरिन् । आफू महिला र दृष्टिविहीन भए पनि अन्य सवलाङ्ग र पुरुष भन्दा कम नभएको विचार व्यक्त गरिन् । उनले सबै महिलालाई निरिह बनेर नबस्न आग्रह गर्दै अघि बढ्नु पर्ने बेला आइसकेको बताइन् । उनले नारी चेतसम्बन्धी एक कविता पनि सुनाएकी थिइन् ।
छात्रा अधिकारीको क्षमताको कदर गर्दै साहित्यकार घनश्याम राजकर्णिकारले ६ हजार रुपैयाँ तत्काल पुरस्कार स्वरुप प्रदान गरेका थिए । यसैगरी प्रतिष्ठानका संरक्षक डोलिन्द्र प्रसाद शर्माले अधिकारीको स्नातक र स्नातकोत्तरसम्मको अध्ययन खर्च पनि प्रतिष्ठानले नै व्यहोर्ने घोषणा पनि गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले यस्तो सम्मानले व्यक्तिको जीवनमा मात्रै असर नपारी समाज र राज्यलाई नै प्रेरणा र उर्जा थप्ने विश्वास व्यक्त गरे । उनले पुरस्कार पाउने व्यक्ति समाज र राज्यमा परिचित हुने भएकोले त्यसबाट अरुलाई पनि राम्रो काम गर्ने हौसला प्राप्त हुने बताए ।
कार्यक्रममा कवि कृष्ण जोशीको फुटकर कथाहरूको संग्रह कृति 'नाइट ड्युटी' को विमोचन पनि गरिएको थियो । प्रमुख अतिथि सत्यमोहन जोशीले सो कृतिको विमोचन गरे ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले विभिन्न प्रतिभाहरुको पहिचान गरेर हरेक वर्ष यी पुरस्कारहरु प्रतिष्ठानले प्रदान गर्दै आएको बताए । उनले विगत ४ दशकदेखि साहित्य साधनामा समर्पित व्यक्तिलाई मात्रै साहित्य साधना पुरस्कार प्रदान गरिने बताए । उनले भने, 'राज्यले नचिनेका व्यक्ति मात्रै यो प्रतिष्ठानको सूचीमा पर्नु हुन्छ । राज्यले चिनाइ सकेका र चिनिएका व्यक्तिलाई हामी सम्मान गर्दैनौँ ।'
फेसबुक कमेन्ट